८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

नेपालको विकास गर्न एआई सिकाइको हब



काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी सिकाइका लागि नेपाल विश्वकै एक प्रमुख केन्द्र बन्न सक्ने आकलनसहित सरकारले चाँडै एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने भएको छ ।

यसबारे आइतबारको एआई सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एआईसम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिए ।

यसअघि असारमा मात्रै सरकारले एआईसम्बन्धी शोध, अनुसन्धान, विकास र प्रयोगलाई बढावा दिँदै यसका जोखिम सम्बोधन गर्न आवश्यक नीतिगत एवं संस्थागत संरचना विकास गर्ने उद्देश्यले एआईसम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको थियो ।

सोही अवधारणापत्रमा आधारित रहेर अब एआईको राष्ट्रिय नीति बनाउन प्रस्ट दृष्टिकोण प्राप्त होस् भनेर सत्तारूढ नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आइतबारदेखि दुईदिने ‘इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक कन्फेरेन्स’ आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले एआईसँगै अन्य सूचना प्रविधिलाई विकास, विस्तार र व्यवस्थापन गर्न सरकार निजी क्षेत्र र नागरिक समाजबीच समन्वय र समझदारी आवश्यक रहेको उल्लेख गरे ।

‘हामी एआईसम्बन्धी संस्थागत रणनीतिक योजना, यससम्बन्धी नेपालको राष्ट्रिय नीति के हुन सक्छ भन्ने विषयमा अगाडि बढ्दै छौं,’ उनले भने, ‘देश विकास, समाजको सुविधा र अग्रगमनका लागि हामी एआईको सदुपयोग गर्छौं ।’

 

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार