८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

पूर्वाधार विकासका लागि बहस कति जरुरी ?



राजनीतिक परिवर्तनपछि देशको आर्थिक विकासले चाहे अनुसार गति लिन नसक्दा निराशा देखिनु स्वाभाविक हो । प्रचुर मात्रामा प्राकृतिक साधनको उपलब्धता हुँदाहुँदै पनि आर्थिक विकासले गति लिन नसक्नु चिन्ताकै विषय बनेको छ ।

देशमा केही छैन र केही हुँदैन भनेर विदेश पलायन भइरहेको युवापुस्तालाई मुलुकमै रोकेर विकास निर्माणमा लगाउन सक्ने व्यवस्थापकीय सामथ्र्यप्रति टिप्पणी भइरहेको छ । अर्कोतिर आर्थिक विकासका लागि अपरिहार्य भौतिक पूर्वाधारको अभावका कारण पछौटेपनबाट माथि उठ्न नसकेको विकासविद्हरूले औँल्याउने गरेका छन् ।

दिगो तथा गुणस्तरीय पूर्वाधार विकासले मात्र मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सक्छ । खास गरी सडक, जलविद्युत्, रेलमार्ग, सुक्खा बन्दरगाह, विमानस्थल, सिँचाइ, सञ्चार सेवा जस्ता क्षेत्रको पूर्वाधार विकास गर्न सके आर्थिक वृद्धिदर तीव्र गतिमा हुने तथ्यलाई नकार्न सकिँदैन ।

यसै सन्दर्भमा, पूर्वाधार विकासले समग्र अर्थतन्त्र चलायमान बनाउनुका साथै मुलुकको विकासमा फड्को मार्न सकिने निष्कर्ष नेपाल उद्योग परिसङ्घद्वारा आयोजित पूर्वाधार सम्मेलनमा निकालिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको आयोजना तथा लगानी बोर्डको कार्यालय र युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर (वाइसिएनसी) को सह – आयोजनामा ‘रणनीतिक लगानीमार्फत दिगो विकास’ भन्ने मूल नारामा केन्द्रित रहेर भएको पाँचौँ संस्करणको सम्मेलन उपलब्धिमूलक भएको निष्कर्ष निकालिएको छ ।

परिसङ्घले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्धन, रोजगारी सिर्जना र समग्र आर्थिक विकासका लागि सरकारसँगको सहकार्यमा सन् २०१४ देखि दुई/दुई वर्षमा सम्मेलन गर्दै आएको छ ।

पूर्वाधार विकासमा धेरै लगानी आवश्यक रहेको तर स्रोतसाधनको अभाव भइरहेको अवस्थामा लगानी जुटाउन गरिएको सम्मेलनले निजी क्षेत्रलाई आकर्षित गर्नुका साथै वैदेशिक लगानीकर्तासमेत आकर्षित हुने अपेक्षा गरिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार