८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

१० घण्टा बन्द प्रभाव

काठमाडौं-दिल्लीको हवाई भाडा ४८ हजारले वृद्धि



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि आन्तरिक तथा वाह्य हवाई भाडादर अचाक्ली बढेको छ । विमानस्थल लामो समय बन्द हुने भएपछि उडान संख्या कटौती हुँदा भाडादर बृद्धि भएको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवे विस्तारसहित विमानस्थलको स्तरोन्नतिका लागि उडान अवधि कटौती गरेको जनाएको छ । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रियतर्फ करिब २९ र आन्तरिक उडान ३५ प्रतिशतले कटौती भएको छ ।

आजदेखि दैनिक १० घण्टा उडान ठप्पको नाममा भाडादर ह्वात्तै बढाइएपछि यात्रु मर्कामा परेका हुन् । यसअघि काठमाडौं–दिल्लीको भाडादर औसत १२ हजार रुपैयाँ रहेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघ बागमतीका अध्यक्ष विष्णु कार्कीले बताए ।

भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाईसमेत मर्का परेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार सम्बद्ध निकायका प्रतिनिधिसँग आज छलफल गरेका हुन् ।

विमानस्थल स्तरोन्नति कार्य रोक्न नसकिने जनाउँदै पोखरा र भैरहवा विमानस्थलको हवाईमार्ग प्रयोग गर्न मन्त्री पाण्डेले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार