१० जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025

निर्माण कार्यमा गति

ठेक्का तोडेपछि सडक निर्माणकार्य तीव्र गतिमा



सडक डिभिजन कार्यालय बुटवलले पहिलेको ठेक्का रद्ध गरेपछि अर्को निर्माण कम्पनी बावुल दर्शन मालिका जेभीसँग सम्झौता गरेको हो । त्यसपछि बुटवलको मुख्य सडक राजमार्गको चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको कामले तीब्रता पाएको देखिन्छ ।

आठ वर्षदेखि अलपत्र सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम पनि गरिरहेको छ । साढे तीन किलोमिटर लामो र छ लेनको सडक विस्तारका लागि मूल्य अभिवृद्धिकरसहित ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।

बुटवल–बेलहियादेखि चिडिया खोलासम्मको छ लेन सडक भैरहवादेखि बुटवल चौराहासम्म निर्माण भएको छ । पछिल्लो समय सडक निर्माणको काम राति र दिउँसो दुई सिफ्टमा गर्ने तयारी छ । जनशक्ति थपेर एक वर्षभित्रै सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

केही स्थानमा खानेपानी पाइपका कारण असहज भएपनि निर्माण कार्य अघि बढिरहेको छ । ‘अहिले इलाका प्रशासन कार्यालय आसपास निर्माणको काम भइरहेको र जनशक्ति थप गरेर दिउँसो र राति दुई चरणमा काम थाल्नेछौं । समय सीमाभित्र सडक निर्माणको काम सम्पन्न गरिने छ,’ निर्माण कम्पनीले जनायो ।

ठेक्का रद्ध भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते एक वर्षभित्र काम सम्पन्न गर्न सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । फुटपाथ तीन मीटर, सर्भिस लेन सात मीटर, ग्रीनबेल्ट र स्टल साढे दुई मीटर, मुख्य लेन साढे १० मीटरको हुने कार्यालयका सूचना अधिकारी इञ्जिनियर महेश्वर लम्सालले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार