९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

प्रधानमन्त्री ओलीसँग विप्लव असन्तुष्ट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । गत मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल भएको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । उनका अनुसार विप्लवले चीन भ्रमणको क्रममा राष्ट्रहित अनुकूल हुने सम्झौता गर्न पछि नहट्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

त्यस्तै यसअघि ओली नेतृत्वको सरकारसँग भएको वार्तामा तीन बुँदे सहमति भएको थियो । सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीसँग विप्लवले असन्तुष्टि जनाएको प्रकाण्डले बताए ।

तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो देशका विभिन्न स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरू पक्राउ परेको भन्दै विप्लवले असन्तुष्टि जनाएका हुन् । त्यस्तै उनले गिरफ्तार परेकाहरूको तत्काल रिहाइ गर्नुपर्ने माग राखेका छन् ।

प्रधानमन्त्री ओलीले भने तीन बुँदे सहमति कार्यान्वयनमा सरकार दृढ भएको बताए । सरकार र नेकपाबीच २०७७ फागुनमा तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

उक्त सहमति पत्रमा दुवैपक्ष नेपाल सरकार र नेकपाबीच देशको राजनीतिक समस्याहरू वार्ता र सम्वादबाट समाधान गर्न, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न, नेपाल सरकार नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता, कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार