८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

सुरुङमार्ग

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ पुसमा हुने

१३५ मिटर खन्न बाँकी



काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको टनेल आगमी पुसमा ‘ब्रेक थ्रु’ गर्ने तयारी भएको छ । पहिलो र तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेको र मुख्य टनेलको काम १३५ मिटर मात्र बाँकी रहेको सिद्धबाबा सुरुङमार्ग योजनाले जनाएको छ ।

गत बुधबारसम्म उत्तर र दक्षिणतर्फ गरी ९ सय ६१ मिटर सुरुङ्को टनेल खनेर सकिएको छ । तीनमध्ये दुई बाइपासको टनेल ‘ब्रेक थ्रु’ भएर मुख्य टनेलको काममा व्यस्त भएको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए । १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास मुख्य सुरुङसम्म टनेल खनेर सकिएको उनको भनाइ छ ।

दोस्रो बाइपासको काम अब ११ मिटर मात्र बाँकी रहेको उनले जनाए । दोस्रो टनेलको १ सय ५० मिटर टनेल खनिसकिएको छ । मुख्य टनेलसँगै दोस्रो बाइपास टनेलसमेत ब्रेक थ्रु हुने आयोजना प्रमुख अधिकारीले बताए ।

गत भदौ २६ मा तेस्रो र असोज ४ मा पहिलो बाइपास मुख्य टनेलसँग खनेर सकिएको थियो । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास ब्रेक थ्रु हुन समय लागेको हो । मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी छ ।

अहिले सुरुङको भौतिक प्रगति ३३.५९ प्रतिशत र वित्तीय प्रगति ३२.२ प्रतिशत छ । वित्तीय प्रगति निर्माण कम्पनीले सुरुमै लगेको पेस्कीसमेत हो । पर्याप्त विस्फोटक पदार्थ रहेको र निर्माण कम्पनीले पनि आवश्यकताअनुसार झन्डै १ सय ५० कामदार निर्माणस्थलमा खटाएको आयोजना प्रमुख अधिकारीले बताए ।

सुरुङ खनेर सुरक्षाका लागि गरिने कामका साथै बाटो फराकिलो पार्नेसहित अन्य काम सुरु भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले भित्र काम भइरहेकाले बाहिरको काम गरेको छैन । सुरुङबाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेको छ ।

सिद्धबाबा क्षेत्रको बाहिरी पहाड अड्याउन ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का लिएको यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ ।

सिद्धार्थ राजमार्गको चिडियाखोला–दोभान सडक तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रको सिद्धबाबा सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ निर्माणको योजना अघि बढेको थियो । यस खण्डको चार किलोमिटर क्षेत्रमा अत्यधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ ।

योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ । राजमार्ग भएर तराईदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लामा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास छ ।

पछिल्लो समयमा गुल्मी भएर मध्यपहाडी लोकमार्गको बागलुङ, खरबाङ पुग्न सहज भएपछि ढोरपाटन क्षेत्र पुग्नेहरूसमेत यही सडक प्रयोग गर्छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार