काठमाडौं । कमलादीस्थित टुकुचा खोलामा बनेको कल्भर्ट भोलि (बिहीबार)देखि सञ्चालन हुने भएको छ । भत्किएको पुरानो कल्भर्ट आधुनिक ढंगले निर्माण भएसँगै भोलिदेखि सञ्चालनमा ल्याउने तयारी भएको सडक डिभिजन काठमाडौंले जनाएको छ ।
कल्भर्ट भत्किपछि सवारी आवागमन बन्द भएको थियो । कल्भर्ट सञ्चालनमा आएसँगै सवारी आवागमन सञ्चालनमा आउने उक्त डिभिजनले बताएको छ । कल्भर्ट निर्माणका लागि सडक डिभिजन काठमाडौंले गत आसोज १८ गते डीबी प्रकाश कन्स्ट्रकसनसँग ठेक्का सम्झौता गरेको थियो ।
तर, सम्झौता भएकै समयमा अविरल वर्षा र चाडपर्वका कारण निर्माणकार्य सुरु हुन सकेको थिएन । त्यसपछि कात्तिक ३ गतेबाट मंसिर १७ गतेसम्म सम्पन्न गर्ने गरी निर्माणकार्य सुरु भएको थियो । डीबी प्रकाश कन्स्ट्रकसनले तोकिएको समयअगावै निर्माण सम्पन्न गरेको निर्माण व्यावसायी, डिभिजन प्रमुख नाराणदत्त भण्डारीले जानकारी दिए ।
टुकुचा खोलामा भत्किएको राणाकालिन कल्भर्ट यसपटक आधुनिक ढंगले निर्माण गरिएको छ । डिभिजन र डीबी प्रकाश कन्स्ट्रक्सनबीच ४९ लाख ६३ हजारमा ठेक्का सम्झौता भएको थियो ।
कल्भर्ट भत्किँदा सवारी आवागमन प्रभावित भएको थियो । अविरल वर्षाका कारण ११ मिटर लामो कल्भर्ट भत्किएपछि सडक अवरुद्ध भएको थियो । राणाकालीन समयमा बनाइएको कल्भर्ट भत्किएपछि हाल बक्स कल्भर्ट निर्माणकार्य सम्पन्न भएको सडक डिभिजन काठमाडौका प्रमुख भण्डारीले बताए ।
लगभग चार महिना ठप्प भएको सवारी आवागमन भोलि बिहान ८ः०० बजे कल्भर्ट उदघाटन भएसँगै विनाअवरोध सञ्चालनमा आउने साइट इञ्जिनियर सन्त पाण्डेले बताए ।
गत साउन २३ गते टकुचा खोलामा रहेको कल्भर्ट भत्किएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया