८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

वीरगञ्जबाट डिजेल आयात घट्यो



पर्सा । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ। चालु आर्थिक वर्षको प्रथम चार महिनामा  डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

डिजेल आयात घटेसँगै राजस्व पनि १५.१६ प्रतिशतले घटेको छ । आव २०८१र८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार ७१९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने ३० अर्ब १७ करोड ७६ लाख ४८ हजार रुपैयाँको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताए । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।

नेपाल निर्माण व्यवसायी महास‌ंघका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए। ‘सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन’, उनले भने ।

त्यसैगरी, चालु आवको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार १२६ किलोलिटर पेट्रोल आयात भएको थियो । –रासस

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २७ मंसिर २०८१, विहीबार