८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

समाचार

३७ वर्षमा पनि भएन सडकको स्तरोन्नति



देवचुली (नवलपरासी) । पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले–धौवादी सडक निर्माण सुरु भएको ३७ वर्ष पुग्यो तर अहिलेसम्म सडक स्तरोन्नति हुने कुनै छाँटकाट देखिँदैन ।

सडक स्तरोन्नति हुन नसक्दा यो सडक भएर यात्रा गर्नेले बर्सेनि सास्ती र हैरानी खेप्दै आएका छन् । हरेक वर्ष हुने सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।

पहिले स्तरोन्नतिका लागि केही काम भए पनि वर्षाले पहाडी क्षेत्रमा आउने ठुला ठुला पहिरोले सडक जस्ताको तस्तै बनाउन थालेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।

यो सडक भएर पहाडी दुई गाउँपालिका हुँदै तनहुँ, पोखरा र पाल्पा जोड्ने सडकको अहिले स्तरोन्नतिका काम सबै रोकिएको बौदीकाली गाउँपालिकाका पूर्वअध्यक्ष दुर्गा रानामगरले गुनासो गरे ।

सुगम जिल्लाका रूपमा रहेको नवलपरासी सिङ्गो जिल्ला हुँदा अति विकट क्षेत्रका तत्कालीन अवस्थाका १७ गाउँ विकास समिति हाल सङ्घीयतापछि दुई जिल्लामा विभाजन भएपछि दुई गाउँपालिका बनेको पहाडी क्षेत्रमा ५४ हजार जनतालाई प्रत्यक्ष मधेशसँग जोड्ने गरी निर्माण सुरु भएको सडकको ट्र्याक खुले पनि स्तरोन्नति हुन नसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष ओझाले बताए ।

३६ वर्षअघि २०४५ सालदेखि सुरु भएको पहिलो चरण अन्तर्गत बुलिङटार–धौवादी–दलदले ४३ किलोमिटर सडकको ट्र्याक खोल्न मात्रै झन्डै २० वर्ष लाग्यो । ट्र्याक खुले पनि सो बाटो वर्षा लाग्नासाथ भत्कने, बिग्रने जस्ता धेरै कारणले पनि राम्रोसँग चल्न नसकेको बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष प्रेमबहादुर थापामगरले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २७ मंसिर २०८१, विहीबार