८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

सडक निर्माण

४ करोड ८७ लाखभन्दा बढी लागतमा पक्की पुल बन्दै



बिजुवार । झिमरुक गाउँपालिका–७ किटघाटमा बुधबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र प्युठानबाट निर्वाचित प्रदेश सभा सदस्य तथा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले संयुक्त रूपमा झिमरुक नदीमाथि बन्न लागेको पक्की पुलको शिलान्यास गरे ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । चार करोड ८७ लाख ६३ हजार ४ सय ४३ रुपियाँको लगानीमा पुल निर्माण हुन लागेको छ । पूर्वाधार विकास कार्यालय प्युठानका अनुसार आँसु निर्माण सेवा बिजुवारसँग गत असार ११ गते पुल निर्माणको सम्झौता भएको हो । आगामी २०८२ पुस १० गतेसम्म पुल निर्माण सक्नुपर्ने सम्झौता उल्लेख छ ।

सो अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले समयमा पुल निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । निर्माण व्यवसायी बालाजु श्रेष्ठले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समयभन्दा अघि नै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

पुल शिलान्यास कार्यक्रममा प्युठानका प्रदेश सांसदद्वय तुलसीराम शर्मा, निमा गिरीसहित सरकारी अधिकारीहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २७ मंसिर २०८१, विहीबार