काठमाडौं । संघीय राजधानी काठमाडौंबाट मुग्लिन हुँदै पोखरा जोड्ने सडक विस्तारको काम तीव्र गतिमा अघि बढाइएको छ । काठमाडौंबाट पोखरासम्मको यात्रा अवधि घटाउने र यात्रा सहज बनाउने मुख्य उद्देश्यले तनहुँको आबुँखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डलाई पूर्वी र पश्चिम दुईखण्डमा विभाजित गरेर काम हुँदै आएको छ । चार लेनको सडक आधुनिक र व्यवस्थित रूपमा निर्माण भइरहेको छ । यस सडक बजार क्षेत्रमा ६ लेनको रूपमा विस्तार गर्ने काम धमाधम हुँदै आएको छ ।
नेपाल सरकार र एसियाली विकास बैंकको ऋण सहयोगमा यस सडक खण्डको विस्तारको काम अघि बढेको थियो । देशको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यको साथ यस सडक विस्तारको काम अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताए ।
सडक विस्तारको काम लक्ष्य अनुरुप हुन नसकेपछि भौतिक पूर्वाधार मन्त्रालयले कामलाई निर्धारित समय सीमाभित्र नै सम्पन्न गर्न पटक–पटक निर्देशनसमेत दिँदै आएको शर्माले बताए । ‘दैनिक हजारौको संख्यामा सवारी साधन आवतजावत गर्ने सडक समयमा नै निर्माण नहुँदा यात्रुहरूले सास्ती खेप्नुपर्ने हैरानीको विषय सडकदेखि सदनसम्म उठदै आएको विषयलाई ध्यान दिँदै मन्त्रालयले सडक विस्तारमा रहेका समस्या समाधान गर्न र निर्माण व्यवसायीलाई कामको गति बढाउन आग्रह गर्दै आएका उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौैं–पोखरा जोडन महत्त्वपूर्ण सडक विस्तारको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताए ।
पूर्वी खण्ड :
तीन वर्षभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी आँबुखैरेनी–जामुनेसम्मको पूर्वी खण्ड २०७७ माघ १७ मा सडक विभागअन्तर्गत रहेको सरकार र चिनियाँ निर्माण व्यवसायी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीबीच ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण सुरु भएको चार बर्षको अवधिमा ७० प्रतिशत भौतिक प्रगति भएको पूर्वी खण्डमा ४१ किलोमिटर सडक मध्ये ३६ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । सडक निर्माण भएसँगै यसअघि हिलो र धुलोको सास्ती झेल्दै आएका यस क्षेत्रका नागरिकहरू खुसी भएका छन् भने बजार क्षेत्रमा व्यापार व्यवसायमा समेत वृद्धि भएको छ । बाँकी रहेको ३० प्रतिशत काम सम्पन्न गर्नको लागि आयोजनाले दस महिनाको म्याद थप गरेको छ । आगामी एक बर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले बताए ।
त्यस्तै निर्माण व्यवसायीलाई निर्माणको क्रममा आइपर्ने समस्या समाधान गर्न आयोजनाले समन्वय गर्ने काम गर्दै आइरहेको छ । सडक विस्तारअन्तर्गत मुख्य काम करिब सम्पन्न हुने चरणमा रहेको र बाँकी कामलाई पनि तीब्रताको साथ अघि बढाइएको आयोजना निर्देशनालय पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए ।
पूर्वी खण्डमा डुम्रे रदमौली बजारमा खानेपानी र विद्युतको पोल स्तान्तरणको कारण हुन नसकेको काम अहिले धमाधम भइरहेको छ । सडक विस्तारको काम भएसँगै यस खण्डमा यातायात सञ्चालन गर्न सहज भएको छ । आयोजनाले आगामी एक बर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
पश्चिम खण्ड :
जामुने–पोखरा सडक खण्ड २०७८ जेठ २ मा सरकार र चिनियाँ निर्माण व्यवसायी यनहुइ काइयुयान हाइवे एण्ड बिज्र कन्स्ट्रसनबीच ७ अर्ब ४० करोड ४६ लाखमा सम्झौता भएको थियो । तर सरकारले समयमै ‘लाइन क्लियर’ नगरिदिँदा र ठेकेदारले कामको गति नबढाउँदा राजमार्ग विस्तार कार्यले पूर्णता पाउन सकिरहेको छैन । निर्माण सुरु भएको झण्डै साढे तीन बर्षको अवधिमा यस सडक खण्डको काम ३५ प्रतिशत सम्पन्न भएको छ । विद्युत् र खानेपानीको पाइप स्तान्तरणको कारणले पनि सडक निर्माणको काममा ढिलाइ हुन पुगेको आयोजनाले बताएको छ ।
३८ किलोमिटर सडक खण्ड मध्ये २० किलोमिटरमा एकतर्फी कालोपत्रे भएको छ भने चार किलोमिटर दुईतर्फी नै कालोपत्रे सम्पन्न भएको छ । निर्माण व्यवसायीले आगामी एक बर्षभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएसँगै आयोजनाले यस खण्डको म्याद पाँच महिनाको लागि थप पाँच महिना म्याद थप गरेको छ । आगामी वर्षअघि नै बाँकी रहेको १४ किलोमिटर खण्डमा पनि एकतर्फी सडक कालोपत्रे गरेर सञ्चालनमा ल्याउने गरी निर्माण व्यवसायीले काम गरिरहेको छ ।
एक बर्ष अघि १० प्रतिशत प्रगति रहेको यस खण्डमा एक बर्षमा थप २५ प्रतिशत प्रगति भएको छ । अहिले निर्माण व्यवसायीले गरिरहेको कामलाई थप गति दिन जनशक्ति र स्रोत साधन थप परिचालन गर्न आवश्यक रहेको पश्चिम खण्डका आयोजना प्रमुख राजन पौडेलले बताए ।
सडक निर्माणको कामलाई थपिएको समयसीमाभित्र नै सम्पन्न गर्नको लागि आयोजनाबाट खटिएका आयोजना प्रमुख, प्राविधिक र परामर्शदाताबाट दैनिक रुपमा सुपरभिजन हुँदै आएको छ । यस खण्डमा रुख कटान, विद्युतको पोल र खानेपानीको पाइपलाइन स्तान्तरणको समस्या समाधान भएकाले आयोजनाले अब निर्माण व्यवसायीले कामलाई गति दिने विश्वास लिएको छ ।
निर्माण व्यवसायीले हाल यस सडक खण्डमा सब बेस, बेस विछ्याउने, वाल निर्माण गर्ने, ठाउँठाउँमा कटिङ गर्ने कार्य गरिरहेको छ । आयोजनाले मुग्लिन–आँबुखैरेनी जोडने करिब आठ किलोमिटर सडक विस्तारको कामलाई सुरु गर्ने प्रक्रिया अघि बढाएको छ । मस्याङदी जलविद्युत् आयोजनाको कारण यस खण्डमा विस्तार गर्न नसकिने अवस्था सृजना भएपछि थप दुई किलोमिटर खण्डमा नयाँ ट्रयाक र त्रिशुली नदीमा नयाँ पुल निर्माण गरेर मुग्लिन जोडने गरी निर्माण हुनेछ ।
सडक विस्तारको काम अघि बढेसँगै नागढुंगा मुग्लिन हुँदै पोखरासम्म आवतजावत गर्न दैनिक दस घण्टासम्म लाग्ने गरेको छ । आयोजनाले दस घण्टाबाट सडक निर्माण भएसँगै काठमाडौं पोखरा चार घण्टामा आवतजावत गर्न सकिने बताएको छ । राजधानी काठमाडौबाट दुई ठूला शहर चितवन र पोखरा जोडने भएकाले पनि यस सडकलाई चाडो भन्दा चाडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।
यस सडक विस्तारपछि नेपालको आर्थिक गतिविधि बढने विश्वास सरकारले लिएको छ । सडकको ट्राफिक क्षमता बढ्नुको साथै काठमाडौं–पोखरा जोडने यस सडकलाई थप विश्वसनीय र सुरक्षित बनाइने भएको छ । चार र छ लेनको रुपमा निर्माणाधिन यस सडकको आसपासमा सर्भिसलेन, फुटपाथ लगायतको संरचना निर्माण गरिनेछ ।
मादी र सेती नदी :
पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माणको काम पनि तीब्र गतिमा अघि बढेको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न लागेको हो । भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माण भइरहेको छ । यस खण्डमा छ लेनको सडक हुनेछ भने सिग्नेचर पुल बनेपछि पर्यटकीय नगरी पोखराको आकर्षण पनि बढ्ने विश्वास गरिएको छ ।
एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग गरेर निर्माण हुनेछ । आयोजना अन्तर्गत पोखराको सेती नदीसँगै र तनहुँको मादी नदीमा पनि सिग्नेचर पुल निर्माणको काम धमाधम भइरहेको छ । तीन सय पन्ध्र मिटर लामो पुल निर्माण गर्नको लागि १ अर्ब २१ करोडमा ठेक्का सम्झौता भएर काम अघि बढेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया