म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रूपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रूपमा आलु खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे आलुखेती विस्तार भएको हो ।
खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न २१ वटा कृषक समूह तथा सहकारीहरूले आठ सय ५० रोपनीमा व्यावसायिक रूपमा आलु खेती लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।
उनका अनुसार, यस कार्यक्रममार्फत करिब तीन सय रोपनीमा बर्खे आलुखेती गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा एक करोड २० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुन आएका किसान समूह र सहकारीलाई आलुको बीउ, यान्त्रिक उपकरण खरिद, सिँचाइ सुविधा विस्तार र बजारीकरणमा अनुदान दिएको कार्यालयले जनाएको छ ।
खायन आलु प्रवर्द्धन कार्यक्रमको लागि छनोटमा परेका कृषक समूह र सहकारीमा आबद्ध किसानले आलुको बीउ र सिँचाइतर्फ ७५ प्रतिशत तथा यान्त्रिकीकरण र बजारीकरणतर्फ ५० प्रतिशत अनुदान पाएका छन् । यस वर्ष जिल्लामा एक हजार दुई सय रोपनी जमिनमा आलुखेती विस्तार गर्ने लक्ष्य लिइएको छ । -रासस
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया