११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

खाने

‘एक घर, एक धारा’ प्रभावकारी, १४ हजार ८०० धारा निर्माण



एउटा धाराबाट करिब १० परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन। आधा दशक अगाडिसम्म दुर्गम गाउँका नागरिकले कुवाकै पानी पिउने गर्थे ।

पछिल्लो समय सरकारले खानेपानीको क्षेत्रमा लगानी बढाउँदै गएपछि अहिले कुवा र पोखरीको पानी खानुपर्ने बाध्यता हटेको हो ।

प्रदेश सरकारले खानेपानीका लागि बागलुङमा बर्सेनी ​करोडौँ लगानी गर्दै आएको छ । गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा जिल्लाभरका आयोजनाका लागि १८ करोड ७७ लाख बजेट विनियोजन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले जानकारी दिए । यो वर्ष जिल्लाका १० पालिकामा १३४ योजना परेका छन् ।

प्रमुख पौडेलका अनुसार बागलुङ नगरपालिकामा २७, गलकोट नगरपालिकामा १४, जैमिनी नगरपालिकामा १०, ढोरपाटन नगरपालिकामा २०, निसीखोला गाउँपालिकामा आठ, तमानखोलामा छ, काठेखोलामा १४, ताराखोलामा १०, बडिगाड १६ र बरेङ गाउँपालिकामा नौ योजना परेका छन् ।

जिल्ला भर १४ हजार ८०० वटा ‘एक घर एक धारा’ निर्माण भइसकेको उनले दाबी गरे। ती धाराबाट ६४ हजार ४१० नागरिक लाभान्वित भएको प्रमुख पौडेलले बताए ।

‘हरेक वर्ष नयाँ धारा थपिँदै गएका छन्, केही ठाउँमा अझै पनि खानेपानीको सहज पहुँच पुगेको छैन, प्रदेशबाट आएका आयोजनालाई हामीहरूले कार्यान्वयन गरिरहेका छौँ’, उनले भने, ‘सीमित बजेटका कारण कयौँ आयोजना समयममा सम्पन्न हुन सकेका छैनन् । विगतको तुलनामा पछिल्लो समय खानेपानीको पहुँच धेरै ठाउँमा पुग्दै गएको छ ।’

निसीखोला गाउँपालिका-२ अर्नाकोटका स्थानीय कली विकले भने लामो समयदेखि खानेपानीको समस्या हुँदा राज्यको ध्यान पुग्न नसकेको गुनासो गरे ।

गाउँ नजिकका मुहान नहुँदा खानेपानी समस्या पर्दै गएको उनको भनाइ छ । टाढाबाट ल्याउनका लागि ठूलो बजेट लाग्ने भएकाले तीनै तहका सरकारले चासो नदिएको विकले बताए ।

‘अरू ठाउँमा खानेपानीको समस्या समाधान भइसकेका छन्, यो अर्नाकोट क्षेत्रमा धेरै वर्ष भयो पानीको हाहाकार हुन थालेको तर अहिलेसम्म समाधान हुन सकेन’, विकले भने, ‘हाम्रो ठूलो नेतासम्म पहुँच नपुगेर होकी, राज्यले हामीहरूलाई उपेक्षामा पारेर हो, यस क्षेत्रका जनतालाई सधैँ पानीकै पिरलो छ, सुगम ठाउँहरूमा एक घर एक धारा बनिसकेका छन् । -रासस

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार