काठमाडौं । गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिजुली उत्पादन सुरु भएको छ ।
नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहमध्ये सबैभन्दा ठूलो सो आयोजनाले आज साँझदेखि पुनः बिजुली उत्पादन सुरु गरेको हो ।
कूल चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको सम्बन्धित आयोजनाले जनाएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७ः४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।
हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी एक सय २० मेगावाट विद्युत् उत्पादन गरिएको छ । अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो ।
असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहरमा क्षति पुर्याएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया