तेह्रथुम । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिकालाई जोड्न तमोरको लुमुघाटमा १३ वर्षदेखि अलपत्र मोटरेबल पुलको पुनःनिर्माण सुरु भएको छ ।
म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेका अनुसार रु १७ करोड लागतमा पुल निर्माण थालिएको हो ।
तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनःसुरु गरेको हो ।
पुलको जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः माटो परीक्षण गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको रोकिएको थियो ।
गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा पुरानै ‘डिजाइन’मा पुल बनाउने सहमति भएपछि निर्माण थालिएको हो ।
चालु आर्थिक वर्षभित्रै निर्माण पूरा गर्ने निर्माण कम्पनीका ‘साइट इञ्चार्ज’ विजय लामिछानेले बताए ।
पुल निर्माण भएपछि म्याङलुङ– लुमुघाट– तमोर करिडोर भएर धरान र प्रदेश राजधानी विराटनगर पुग्न सहज हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया