काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर (आगम छेँ) पुरातत्व विभागले पुनःनिर्माण गर्ने भएको छ ।
हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सीप र शैलीमा पुनःनिर्माण गर्ने विषयमा सरोकार भएका कार्यालयबीच साझा मत भएपछि पुनःनिर्माण अघि बढेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले यस क्षेत्रका ५८ सम्पदामा क्षति भएको थियो । भूकम्पले जीर्ण भएका वसन्तपुर क्षेत्रका धेरै सम्पदा पुनःनिर्माण भइसकेका छन् । केही पुनःनिर्माणको चरणमा रहेका छन् ।
चौक्वाठ शैलीमा निर्मित मल्लकालीन दरबारको दक्षिणपश्चिम कुनामा अवस्थित आगम छेँ मन्दिर पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले केही दिनमै निर्णय गरेपछि थप प्रक्रिया अघि बढ्ने महानिर्देशक प्रधानाङ्गले बताए । यसका लागि सबै प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको उनले बताए ।
नेवार परिवारमा आफ्नै छुट्टै भगवान्स्थल हुन्छ । यसलाई आमग घर मानिन्छ । यसमा परिवारका सदस्यबाहेक अन्यलाई प्रवेश गर्न अनुमति हुँदैन । यसलाई कोठा वा मन्दिरका स्वरूपमा बनाइएको हुन्छ ।
हनुमानढोका दरबारभित्रको मोहनचोक प्रताप मल्लले बनाएका हुनाले यससँगैको आगम छेँ पनि उनले नै बनाएको जनविश्वास छ । यो तान्त्रिक दशमहाविद्या देवी अन्नपूर्णको मन्दिर हो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया