१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

सहकारी प्रकरण

रविको बयान आज पनि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा निलम्बित सांसद रवि लामिछानेविरुद्ध अभियोजन दायर भएसँगै आज (शुक्रबार) पनि बयान हुने भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रविको बयान हिजो (बिहीबार) सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान तीन घन्टासम्म चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार लामिछानेको बाँकी बयान आज पनि हुनेछ ।

सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएपछि उनको बयान हुन सकेको थिएन । सोहीबीचमा उनी संघीय संसद्को सांसद पदबाटसमेत निलम्बन भइसकेका छन् ।
मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण यसअघि उनी अदालतमा गए पनि बयान दिन नपाए पछि यसै हिरासतमा फर्केका थिए ।

जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसूरमा न्यायाधीश नितिज राईले अदालतमा  लिएको बयान सकिएको छ । छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान सुरु गरिएको छ । अब रविको पालो आउने अनुमान गरिएको छ ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिल कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर अभियोजन दायर गरेको छ । सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । रबि पक्राउ परेको ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । रविविरुद्ध भने तीन वटा कसुरमा अभियोजन दायर भएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा अभियोगपत्र दर्ता गरिएको छ ।

गत शुक्रबार मात्रै यहीँ घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोजनपत्र दर्ता भएको थियो । १८ असोज, २०८० मा राईलगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर अभियोजन गरेको थियो । रविसहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा तथा जीवी राई र लिला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।

रवि लामिछाने र जीवी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।  सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति रवि गत कात्तिक २ गते रास्वपा केन्द्रीय कार्यालय वनस्थली काठमाडौंबाट पक्राउ परेका थिए ।

पक्राउ परेकै साँझ रवि लामिछानेलाई कास्की पु¥याइएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार