कैलाली । कैलालीको बौनियामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव जारी छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज उद्घाटन गरेका थिए ।
‘कृषि, व्यापार, संस्कृति र बर्दगोरिया पर्यटकीय धामको विकासः निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने मूल नाराका साथ बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा महोत्सव सुरु भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यस लोकमार्गको निर्माणका लागि दबाब स्वरूप विगतका वर्षदेखि नै महोत्सवको आयोजना गरिँदै आएको छ । सोही अनुरूप यसवर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको बजार व्यवस्थापन समितिका अध्यक्ष देवराजसिंह स्वारले जानकारी दिए ।
महोत्सवको आज उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले लोकमार्ग निर्माणको काम सङ्घीय सरकारले अगाडि बढाएअनुरूप भइरहेको बताए ।
उनले भने, ‘सङ्घीय सरकारले लोकमार्गको अवधारणालाई अगाडि बढाउँदा तीन खण्डमा बजेट विनियोजन भयो । कैलालीको जानकी गाउँपालिकास्थित दुगौलीबाट टेण्डर भई प्रक्रिया अगाडि बढेको छ । काम भइरहेको छ तर सीमित स्रोतसाधनका कारण चाहेअनुसार उपलब्धि हुन सकेको छैन ।’
आयोजकले सेती लोकमार्ग निर्माण, बौनिया बजारको ढल निकासलगायत माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।
महोत्सव आगामी १८ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया