सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन ।
रु ७० करोड लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको थियो ।
बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकामा सो समस्या हल भए पनि बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन नपाएको हो ।
बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ । आयोजनाविरुद्ध गाभर, बाँनियाभारका स्थानीयवासीले उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दायर गरेका थिए ।
अदालतले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले आवश्यक मुआब्जा दिएर प्रसारण लाइन निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएकोे थियो ।
गाभरमा छ वटा, बाँनियाभारमा तीन वटा गरेर नौ वटा टावर निर्माण हुन बाँकी रहेको छ ।
उक्त टावरहरु निर्माणस्थलका स्थानीयवासीसँग मुआब्जा दिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले चलनचल्तीको सरकारी दरमा मुआब्जा दिनका लागि समन्वय, सहकार्य गरी गाभरमा समस्या समाधान भएको छ ।
बाँनियाभारमा भने अझै समस्या भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया