९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

देउवा-कोइराला विवाद

कांग्रेस संस्थापनको निर्देशन लत्याउँदै इतरपक्ष



काठमाडौ । कांग्रेस संस्थापनइतर डा.शेखर कोइराला पक्षले कोशी प्रदेश सभापतिहरूको भेला नरोक्ने भएको छ ।

मंगलबार दिउँसो १ बजे सुरु हुने विराटनगरको जैन भवनमा भेलाको उद्घाटन हुने कोइराला पक्षले जनाएको छ । भेलामा काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, वीरगञ्जका सभापतिहरू पनि सहभागी हुनेछन् ।

संस्थापन पक्षले सोमबार कोशीका सबै जिल्ला सभापतिहरूलाई परिपत्र गरिसकेको छ । परिपत्रमार्फत मंगलबार कोशीमा कुनै पनि भेला÷कार्यक्रम नभएको जानकारी गराएको छ ।

कोइराला पक्षका विराटनगर सभापति दीपक चापागाईंले भने भेला रोक्नुपर्ने कुनै कारण नभएको बताएका छन् । उनले परिपत्रमा भेला÷कार्यक्रम नभएको उल्लेख गरेको बताए । तर, रोक्नुपर्ने उल्लेख नभएको बताएका छन् ।

भेलामा सहभागी हुन ११३ पालिकाका सभापतिहरूले नाम दर्ता गरिसकेको उनको दाबी छ । ‘कोशी प्रदेशमा १३७ पालिका छन् । यी सबै पालिका सभापतिहरू भेलामा सहभागी हुन विराटनगर पुगिसक्नु भएको छ,’ चापागाईंले भने ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार कोशीमा पार्टीको कुनै भेला÷कार्यक्रम नभएको र समान्तर भेलामा सहभागी नहुन दिएको निर्देशन कोइराला पक्षले लत्याउँदै मंगलबार समान्तर भेलाको आयोजना गरेको छ ।

संस्थापन पक्षका कांग्रेस कोशी प्रदेश सभापति कृष्ण सिटौलानिकट उद्धव थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते प्रदेश सम्मेलनको तयारी गरेको छ । तर, कोइराला पक्षले मंगलबार र बुधबारका लागि प्रदेश राजधानी विराटनगरमा सभापतिहरूको भेलाको आयोजना गरेको यसअघि नै पत्रकार सम्मेलनमार्फत जानकारी गराइसकेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार