काठमाडौं । नेकपा (माओवादी) केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन पुनः स्थगित भएको छ । यहीँ मंसिर २३–२४ गतेका लागि तोकिएको उक्त सम्मेलन स्थगित भएको हो ।
गत असोज १०–१५ सम्म जारी सम्मेलनमा उमेरहद विवाद भएपछि स्थगित गरिएको थियो । त्यसलगत्तै बसेको माओवादी बैठकले मंसिर २३–२४ गतेका लागि तोकिएको थियो । तर, आन्तरिक तयारी नपुगेको भन्दै सम्मेलन पुनः बैठक स्थगित गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष मदन भूलले जानकारी दिए ।
भूलका अनुसार आउँदो २७ गते बस्ने पार्टी स्थायी कमिटी बैठकले निर्वाचनको मोडालिटी तयार पारेपछि नयाँ मिति तोकिनेछ । यसअघि संगठनको नेतृत्वका लागि जारी सम्मेलनमै उमेरहद विवाद चर्केपछि स्थगित भएको थियो । नेतृत्व बन्न २८, ३०, ३२ उमेरहद हुनुपर्ने माग उठेको थियो ।
नेतृत्व आकांक्षीहरूले ३२ वर्षे उमेरहद स्वीकार्य नहुने भन्दै जारी सम्मेलनमै विरोध गरेका थिए । त्यसपछि स्थगित भएको सम्मेलन मंसिरको २३ र २४ गते गर्ने निर्णय अध्यक्ष मण्डलले गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया