१९ पुस २०८१, शुक्रबार | Fri Jan 3 2025

खानेपानी आयोजना

सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सुरु भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन सकिएर विस्तृत आयोजनाको काम अघि बढाइएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा सञ्जीवविक्रम राणाले जानकारी दिए ।

उनले भने, ‘चालु आर्थिक वर्षभित्र परामर्शदाता छनोट हुन्छ र काम सुरु भएको १४ महिनामा प्रतिवेदन तयार हुन्छ ।’ बोर्डले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन भने पूरा गरिसकेको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी खानेपानी आयोजनाअघि बढाउन लागिएको बताए । उनका अनुसार यो आयोजना मेलम्ची खानेपानी आयोजनाको विकल्पमा बनाउन लागिएको हो ।

काठमाडौं उपत्यकाको जनसङ्ख्या बढ्दै जाँदा मेलम्चीको पानी मात्रै पर्याप्त नहुने भएकाले नयाँ विकल्पमा काम सुरु गरिएको हो । सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी सङ्कलन गर्ने र उपत्यकामा पठाइने कार्यकारी निर्देशक राणाले बताए । उनका अनुसार उक्त आयोजनाबाट दैनिक १३ करोडदेखि १४ करोड लिटर पानी उपत्यकामा ल्याउन सकिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार