काठमाडौं । मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०र१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
सबस्टेसन चार्ज गरिएसँगै कूल ८२ किलोमिटर मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मस्र्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए ।
यसबाट देशको एकीकृत विद्युत् प्रणालीको ‘भोल्टेज’ सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने जानकारी दिए । मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया