२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

पुल निर्माणकार्य

९ वर्षपछि पक्की पुल निर्माणकार्यले गति लिँदै



काठमाडौं । जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ । विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो । पुलका तीनवटा पिलर खडा गरे पनि ‘पाइल टेष्ट’मा फेल हुँदा काम अगाडि बढ्न सकेको थिएन ।

‘त्यही अवस्थामा पुल निर्माणको काम अगाडि बढाउन सकिने अवस्था थिएन,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीले भनृ, ‘मर्मत गर्न सकिने अवस्था पनि भएन, पुलको डिजाइन नै ‘रिभ्यू’ गरेर निर्माण अहिले अगाडि बढाएका छौँ ।’

लागत नबढ्नेगरी पुलका पिलरको फाउन्डेसनको ‘डायमिटर’ बढाएर कार्य अगाडि बढाइएको उनको भनाइ छ । पहिलेको डिजाइनअनुसार पुलको डायमिटर ८० सेन्टिमिटर थियोभने अहिले बढाएर एक सय २० सेन्टिमिटर राखिएको छ ।

पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । विसं २०८२ माघ २० गतेसम्म पुल निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरिएको छ । पुलको लम्बाइ दुई सय ११ मिटर रहेको छभने चौडाइ ११ मिटर छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार