पाँचथर । मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ ।
पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन् । उपभोक्ता समितिले महभिरबाट दुई मुहानको पानी केही समयअघिदेखि वितरण गर्न थालेको हो ।
साढे पाँच किलोमिटर दूरीबाट रु एक करोड १६ लाखको लागतमा दुई नयाँ मुहानबाट पानी ल्याइएको हो । यस्तै नाम्दु खोलाका दुई नयाँ मुहानबाट साढे सात किमी पाइप लाइन विस्तार गरी खानेपानी ल्याइएको छ ।
यसैगरी सिस्ने खोलाको मुहानबाट साढे ६ किमी पाइप लाइनमार्फत नयाँ मुहान थप गरिएको छ । नयाँ मुहानबाट खानेपानी ल्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन योजना कार्यालय इलाम र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरले बजेट तथा पाइप उपलब्ध गराएको समितिका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए ।
सरकारी कार्यालयका अतिरिक्त सिङ्गापुरमा रहेका यहाँका नागरिकबाट प्राप्त सहयोग, समितिले देउसीभैलोबाट सङ्कलन गरेको रकम, देशविदेशबाट अन्य सहयोगीले पठाएको रकम तथा श्रमदानबाट संरचना निर्माण गरी नयाँ मुहान थप गरिएको हो ।
रु छ करोड ५१ लाख लागतमा नयाँ मुहान थप गरी सदरमुकाम क्षेत्रका तीन हजार घरधुरीमा खानेपानी वितरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया