काठमाडौं । निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ ।
सङ्घीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि रु एक अर्ब ५० करोड बराबरको स्रोत सहमति गरेसँगै काम अघि बढ्ने भएको छ ।
लोकमार्गको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्ती र बजेट विनियोजन नभएका कारण अलपत्र बनेको थियो ।
उक्त खण्डको मार्ग विस्तार र स्तरोन्नतिका लागि २०७३ साल असार २२ मा सम्झौता भई २०७५ साल जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकामा गत वर्षमात्र मार्ग खुलाउने कार्य पूरा भएको थियो ।
कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा काम हुनसकेको थिएन । सांसद पदम गिरीले फलेवास–अर्मादी सडक खण्डको काम सुरु हुने बताए ।
यसअघि उक्त खण्डका लागि रु नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ विनियोजन भएको थियो ।
उक्त बजेटले फलेवास नगरपालिका–६ ढिकबाट कुश्मा नगरपालिका–४ अर्मादीसम्मको १४ किलोमिटर ट्र्याक खोलेको थियो । त्यसबाहेक अन्य काम भने हुनसकेको थिएन ।
मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्षमात्र खुलाइएको भए पनि सवारीसाधन सहज रूपमा चल्न सक्ने अवस्था छैन ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया