२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

आयल निगम

आयल निगमको डिपो गोदावरी सारिँदै



काठमाडौं । नेपाल आयल निगमले धनगढीस्थित सुदूपश्चिमाञ्चम प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ । डिपो सार्नका लागि गोदावरीमा २० बिघा १६ कठ्ठा आठ धुर जग्गा पहिचान गरिएको निगमले जनाएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना संयोजक प्रदीपकुमार यादवले डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जानकारी दिए ।

उनले हाल धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित डिपो घना बस्तीबीचमा रहनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न जग्गा साँघुरो भएकाले सुरक्षित स्थानमा सार्नु परेको बताए ।

‘एक बिघा आठ कट्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले डिपो स्थान्तरण अनिवार्य भएको हो,’ परियोजना प्रमुख यादवले भने ।

विसं २०३७ मा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थान्तरण गर्नुपरेको उनले उल्लेख गरे ।

आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न हुने र आगामी वैशाख पहिलो साता डिपो शिलान्यास गरिने निगमको योजना छ । विसं २०८४ वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ । जग्गा अधिग्रहण र डिपो निर्माणका लागि रु तीन अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २ माघ २०८१, बुधबार