कैलाली । कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उपस्थितिमा नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमास्तम्भ मर्मत सुरु गरिएको हो । टीकापुर–८ स्थित खक्रौलामा रहेको ७३र२ सीमास्तम्भमा रङरोगन गरी मर्मत सुरु गरिएको छ ।
टीकापुर नगरपालिका क्षेत्रमा रहेका सात वटा मुख्य स्तम्भमध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य मुख्य र सहायक स्तम्भ कर्णाली र मोहना नदीले बगाएको अवस्था छ । ७०४ सीमास्तम्भ जोखिममा रहेकाले त्यसलाई जोगाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् । टीकापुर नगरपालिकाभित्र मुख्य सात वटा सीमास्तम्भ र अन्य सहायक स्तम्भ रहेका छन् ।
मर्मत सुरु हुनुअघि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सीमास्तम्भ दुरुस्त राख्न दुवै देशको दायित्व भएकाले रङरोगन र मर्मत गर्न लागिएको बताए । ‘दुई देशबीचको साझा मूल्य र मान्यतालाई कायम राख्दै सुरक्षा निकायका बीचमा समन्वयकारी भूमिका निर्वाह गरेका छौँ,’ उनले भने, ‘खुला सिमानाका कारण भन्सार चोरी हुने, नेपालमा अपराध गरी भारतमा लुक्ने र भारतमा अपराध गरी नेपालमा लुक्ने प्रवृत्ति रहेकाले यसरी सिमानामा देखिने आपराधिक घटनामा दुवैतर्फका सुरक्षा निकायले एकअर्कालाई सघाउनुपर्ने आवश्यकता छ ।’
प्रमुख जिल्ला अधिकारी हमालले नेपाल र भारतबीच खुला सिमाना भएकाले चोरी निकासीका साथै लागुऔषध दुव्र्यसनीको समस्या विकराल बन्दै गएकाले यसलाई नियन्त्रण गर्न दुवैतर्फका सुरक्षा निकायले चासो दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया