काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा जग्गा अभावका कारण शीतभण्डार निर्माण कार्य अघि बढ्न सकेको छैन । तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया ६ वर्षदेखि थन्किएको छ ।
बनेपा नगरपालिका–७ मा साझेदार संस्था कृषि बजार मल्टिप्रपोजले निर्माणस्थल उपलब्ध गराउन नसक्दा निर्माणको प्रक्रिया अघि नबढेको हो ।
बागमती प्रदेश सरकारद्वारा एक वर्षभित्र निर्माण सक्नेगरी २०७६ असारमा तीन चरणमा नौ जिल्लाका १२ स्थानीय तहमा शीतभण्डार निर्माणका लागि सम्झौता गरेको थियो ।
बनेपामा पहिलो चरणमा निर्माण गर्ने भनिएको शीतभण्डार निर्माणका लागि रु तीन करोड ६४ लाख ५६ हजारमा इजी इन्फ्रा प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।
बनेपामा निर्माण हुने शीतभण्डारका लागि जग्गा उपलब्धतामा कठिनाइ भएको भन्दै साझेदार संस्था बनेपाको कृषि बजार मल्टिप्रपोजका सञ्चालक एक वर्षदेखि सम्पर्कमा छैनन ।
यससँगै प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा प्रदेशका विभिन्न जिल्लामा रु एक अर्ब ६ करोडका विभिन्न १२ शीतभण्डार छ वर्षअघि निर्माण प्रक्रिया थालेको थियो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा बजेट वक्तव्यमार्फत ‘एक जिल्ला, एक शीतभण्डार’को अवधारणा ल्याएको थियो ।
सोहीअनुसार प्रदेश सरकारले काभे्रपलाञ्चोक, दोलखा, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, चितवन, रामेछाप र सिन्धुलीमा शीतभण्डार निर्माणका लागि बजेटसहित थालनी गरेको थियो । नुवाकोटमा दुई, दोलखामा दुई र अन्य जिल्लामा एक–एकवटा शीतभण्डार निर्माणको काम सुरु गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया