९ जेष्ठ २०८२, विहीबार | Thu May 22 2025

विधेयक पारित माग

विद्युत् विधेयक पारित गर्न निजी क्षेत्रको माग



काठमाडौं । निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनुपर्नेमा सरोकारवालाहरूको जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार राजधानीमा आयोजना गरेको ‘प्रस्तावित विद्युत् विधेयक २०८० र लगानीको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायले संसदमा हाल विचाराधीन विद्युत् विधेयकभन्दा प्रचलित विद्युत् ऐन २०४९ नै निजी क्षेत्रमैत्री रहेको बताए । ‘प्रचलित ऐनले निजी क्षेत्रलाई विभिन्न सुविधा दिएर विद्युत् विकासलाई हालको अवस्थासम्म ल्याएको हो,’ उनले भने, ‘यो ऐनमा सबै समस्याको समाधान छ, यसको कार्यान्वयन गर्ने विषयमा समस्या छ ।’

विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले विद्युत् क्षेत्रमा प्रतिस्पर्धा गर्दा पनि प्राथमिकताको मापदण्ड तय गरिनु पर्ने बताए । निजी क्षेत्रलाई विभेदरहित खुला पहुँचको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव जिवछ मण्डलले निजी क्षेत्रको लगानीको सुरक्षा नीतिगत व्यवस्थाबाट नभएसम्म यस क्षेत्रमा लगानी नआउने उनले बताए । हालसम्म नेपाल प्राविधिक रुपमा लोडसेडिङ मुक्त नभएको भन्दै उनले यसका लागि ३० प्रतिशत ‘स्पिनिङ विद्युत् रिर्जब हुनुपर्ने’ बताए । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले निकै ठूलो योगदान गरेकोले निजी क्षेत्रले गरेको लगानीको सुरक्षा अपरिहार्य रहेको उनको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले जलवायु परिवर्तनले पछिल्लो समय नेपालका जलविद्युत् आयोजनाहरूलाई प्रभावित गर्दै लगेको विषयलाई समेत विधेयकले समेट्नुपर्ने बताए । अर्थशास्त्री गोविन्द नेपालले जलविद्युत् आयोजनालाई उच्च क्षमतामा निर्माण गर्ने र यसका ६५ लाख लगानीकर्तालाई प्रतिफल दिने गरी अघि बढाउनु पर्ने बताए । 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १ फाल्गुन २०८१, विहीबार