३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

फुटेको खानेपानी

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत खर्च विद्युत् प्राधिकरणले बेहोर्ने



काठमाडौं । बबरमहलस्थित मेलम्ची खानेपानीको पाइप मर्मत गरिएको छ । बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत लाइन विस्तार गर्ने क्रममा पाइप फुटेपछि बिहीबार मर्मत गरिएको हो ।

प्राधिकरणले केही वर्षयता भूमिगत लाइन विस्तार गर्दै आएको छ । बुधबार पनि लाइन विस्तार गर्ने क्रममा मेलम्ची खानेपानीको पाइप फुटेको थियो । पाइप फुट्दा बबरमहलस्थित अदालत, सडक, सरकारी भवन डुबानमा परेको थियो भने मीनभवन, अनामनगर र आसपासका क्षेत्रमा खानेपानी वितरण सेवा प्रभावित भएको थियो ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले बिछ्याएको थोक खानेपानी पाइपको सबै पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । केयूकेएलका अनुसार झन्डै ३० लाख लिटर पानी खेर गएको छ ।

पाइप फुटेको झन्डै २० घण्टापछि मर्मत गरिएको छ । बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप बिहीबार मर्मत सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पाइप मर्मत गरिएको केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

मेलम्ची आयोजना कार्यान्वयन इकाइले तत्काल पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने र त्यसको खर्च विद्युत् प्राधिकरणले बेहोर्ने मौखिक सहमति भएको प्राधिकरणका एक अधिकारीले बताए ।

विद्युत् प्राधिकरणको त्रुटीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) पाइप फुटेपछि क्षति भएको सडक पुर्नस्थापनाको लागि डिभिजन सडक कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

बिहीबार अरनिको राजमार्गको माइतीघर तीनकुने सडक खण्डको बबरमहलस्थित सर्भिस लेनमा क्षतिग्रस्त सडक यथाशिघ्र पुर्नस्थापना गर्न डिभिजन सडक कार्यालयले केयूकेएललाई पत्रमार्फत निर्देशन दिएको हो ।

हेर्नुहोस् पत्र :

केयूकेएललाई पत्रमार्फत दिएको निर्देशन

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार