५ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025

प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न



काठमाडौं । रिपुमर्दिनी सैनिक महाविद्यालयको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित तीन दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी–२०८१ आज मिति २०८१ फागुन ६ गते सम्पन्न भएको छ ।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रदर्शनीको अवलोकन गर्नुका साथै विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयहरूका उत्कृष्ट प्रोजेक्टहरूलाई पुरस्कृत गरेका छन् ।

सोही अवसरमा रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलले पनि विभिन्न विधामा उत्कृष्ट छात्रछात्राहरूलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा प्रधान सेनापति महारथी सिग्देल तथा सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलले संयुक्तरूपमा महाविद्यालयको वार्षिक मुखपत्र रिपुमर्दिनी रिदमको विमोचन गरेकी थिइन् ।

बलाध्यक्ष रथी प्रदीप जंग केसीले मिति २०८१ फागुन ४ गते समुद्घाटन गरेको उक्त प्रदर्शनीमा विभिन्न सामुदायिक तथा संस्थागत गरी कुल २५ वटा विद्यालयका ३९ वटा प्रोजेक्टहरूको सहभागिता रहेको थियो ।

रिपुमर्दिनी सैनिक महाविद्यालयले विसं. २०७७ सालबाट सु? गरेको प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीको यो पाँचौँ संस्करण हो । प्रदर्शनीको विभिन्न विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारणले अवलोकन गरेका थिए । समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द, अधिकृत, शिक्षकवर्ग तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयहरू सम्मिलित यस प्रकारको बृहत् विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानमा प्रेरित गर्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार