काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगत ६ बर्षको तुलानामा सबै भन्दा बढी पुँजीगत खर्च गर्न सफल भएको छ । मन्त्रालयले आर्थिक बर्ष २०८१÷८२मा ६ बर्षयताकै सवैभन्दा बढी ७६.४१ प्रतिशत पुँजीगत खर्च गरेको हो । मन्त्रालयले राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्ला सदरमुकाम सिमकोट समेत राष्ट्रिय राजमार्गको सञ्जाल जोडने काम गरेको छ । मन्त्रालयले एक बर्षको अवधिमा ९३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९३२ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न गरेको छ । त्यसैगरी १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न गर्नुको साथै १० वटा बेलीबृज जडान गरेर सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाले विगत बर्षमा निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व यस आर्थिक बर्षमा नरहेको बताउनुभयो । भुक्तानी दिन बाँकी कुल दायित्व रकम ८ अर्ब ६६ करोड दोश्रो त्रैमासिक अवधि भित्रै भुक्तानी दिएकोले यस आर्थिक बर्षमो निर्माण व्यवसायीलाई भुक्तानी दिने दायित्व न्यून रहेको बताउनुभयो ।
राजमार्गका अवरुद्ध स्थानहरुमा विशेष परिस्थितिमा बाहेक आधाघण्टा भित्र मेसिन औजार पु¥याई दुई घण्टा भित्र अवरोध हटाई यातायात सूचारु गर्ने गरी व्यवस्था मिलाएको मन्त्रालयले बताएको छ ।
एक बर्षको अवधिमा पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकको ११३ किलोमिटर कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेकोमा हाल सम्म ६० किलोमिटर चार लेन र थप ३३.५ किलोमिटर २ लेन कालोपत्रे सम्पन्न भएको छ । हाल दाउन्ने बाहेक अधिकांश स्थानमा यातायात आवागमन सहज बनेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत काकरभिट्टा–लौकही सडकमा ११८ वटा बक्स कलर्भट २६.९५ किलोमिटरमा सबबेश र २.५ किलोमिटरमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत ३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ५०.५ किलोमिटर सम्पन्न भएको छ । पृथ्वी राजमार्गको मुग्लिङ्ग–पोखरा पूर्वी खण्डमा आँबुखैरेनी देखि जामुने सम्मको ४१ कि.मि. सडक कालोपत्रे सहित निर्माण कार्य सम्पन्न भएको छ भने पश्चिम खण्डको जामुने देखि पोखरा सम्म ३८ कि.मि मध्ये १० कि.मि. एकतर्फी (२ लेन) सडक कालोपत्रे भएको र २६ कि.मी ४ लेन कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ ।
रुग्ण ठेक्काहरुको अध्ययनबाट कुल ५८६ ठेक्काहरु पहिचान गरिएकोमा यस वर्ष भित्र १२० वटा रुग्ण ठेक्का तोडिनुको साथै १५१ वटा रुग्ण ठेक्काहरुको समस्याको प्रकृति अनुसार समाधानको प्रकृया अगाडि बढाएको छ । आर्थिक बर्ष २०८१÷८२ मा ९३० किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य राखिएकोमा ९३२ किलोमिटर गर्ने काम सम्पन्न गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया