काठमाडौं ।
नेपाल उद्योग परिसंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको भन्नुहुँदै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप समिति गठन गरेको बताउनुभयो । अध्यक्ष पाण्डेले परिसंघले शिक्षालाई उद्योगसँग जोड्ने मुख्य उद्देश्यसहित नेपालका विभिन्न विश्वविद्यालयहरुसँग समझदारी गरेको जानकारी समेत गराउनुभयो ।
सो अवसरमा शिक्षा मन्त्री पन्तले उत्पादनसँग तालमेल हुने गरी शिक्षालाई जोड्न आवश्यक रहेको भन्नुहुँदै सो कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले शिक्षामा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्नुहुँदै यसलाई उत्पादनसँग समेत जोड्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलमा परिसंघका पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया