८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सिँचाइ

७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ अभाव



ढोरपाटन । बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मारमा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।

पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो । जिल्लामा कृषि क्षेत्रका लागि  बर्सेनी करोडौँका बजेट परे पनि योजना समयमा सम्पन्न नहुँदा किसान मारमा परेका हुन् ।

चालु आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट ८८ आयोजना परेका छन् । गण्डकी प्रदेश र संघीय सरकारअन्तर्गतका  आयोजनाका लागि प्रदेशको १४ करोड बजेट परेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका १० वटै पालिकामा योजना परेका छन् ।

जिल्लामा ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३० हजार ९१९ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएकोमा २५.८७ प्रतिशत जमिनमा मात्र सिँचाइ पुगेको उनले जानकारी दिए। बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार ८४१ हेक्टर रहेको उनले बताए ।

गलकोट नगरपालिका-११ का कर्णबहादुर काउचाले सिँचाइको सुविधा नहुँदा पछिल्लो समय धेरै खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेका बताए। एक दशक अगाडिसम्म गाउँमा साना खोलाबाट कुलो निर्माण गरेर सिँचाइ गर्ने गरेको स्मरण उनले गरे। अहिले मुहान सुक्दै गएपछि धेरै जमिनमा खेतीपाती हुन छोडेको उनको भनाइ छ ।

निसीखोला गाउँपालिका-१ का तुलबहादुर खत्रीले सिँचाइ राम्रो नहुँदा धान उत्पादनमा कमी आएको सुनाए ।  ‘यो क्षेत्रमा धेरै ठाउँमा धान फल्ने जग्गा हुँदा पनि सिँचाइको समस्याले उब्जनी भएको छैन ।

धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, आकाशे पानीको भरमा धान रोप्नुपर्ने अवस्था छ’, उनले भने, ‘खेतीयोग्य जमिनमा सिँचाइको राम्रो सुविधा नहुँदा परनिर्भर बन्नुपरेको छ । सरोकार भएका निकायले यो समस्या समाधान गरी किसानलाई राहत दिनुपर्छ ।’ -रासस

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार