८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

प्रविधि

१८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान गरिँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्ने भएको छ ।

उपप्रमुख सुनिता डङ्गोलले मंगलबार महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौं प्लाजाको सडकतर्फ उपकरण जडान गरी यो कार्यको आरम्भ गरिन् ।

उपकरण राखेपछि उपप्रमुख डङ्गोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदूषण न्यूनीकरणका लागि काम गरिरहेको बताइन् ।

उनले प्रदूषणबाट आर्थिक, सामाजिक, वातावरणीय तथा विकास क्षेत्रमा पारेको असर घटाएर स्वास्थ्य शहर निर्माण गर्न धुलोरहित महानगर कार्यक्रम कार्यान्वयनमा रहेको बताइन् ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजनसँगको सहकार्यमा वायु गुणस्तर निगरानी उपकरण जडान गर्न लागेको हो ।

विश्व स्वास्थ्य संगठनले पीएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रतिघन मिटर हुनुपर्ने भनेको छ । पीएम २.५ भनेको वायुमण्डलमा पाइने साना कण हुन् ।

यी कणहरू सजिलै फोक्सोमा पुग्न र रक्त प्रवाहमा मिसिन सक्छन् । यसैकारण श्वासप्रश्वास तथा हृदयसम्बन्धी र अन्य विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार