सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दम्पतीले एक लाख बढी रकम सहयोग गरेका छन् ।
मानव सेवा आश्रम कर्णाली प्रदेशस्तरीय भवन निर्माणार्थ शाही र उनकी श्रीमती कर्णाली प्रदेश लोकसेवा आयोगकी सदस्य बसन्ती शाहीले व्यक्तिगत रूपमा दान गरेका हुन् । आश्रमको भवन निर्माणार्थ प्रदेश राजधानी वीरेन्द्रनगर खुल्ला मञ्चमा गत शुक्रवारदेखि श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ जारी छ ।
महायज्ञको पाँचौँ दिन मङ्गलवार शाही दम्पती महायज्ञ स्थलमै सहभागी भएर मानव सेवा आश्रमको भवन निर्माणार्थ प्रति व्यक्ति ५१ हजार १ सय ५५ रुपैयाँका दरले १ लाख २ हजार ३ सय १० रुपैयाँ सहयोग गरेका हुन् ।
पूर्व मुख्यमन्त्री शाहीले महायज्ञमा बोल्दै मानव सेवा आश्रमले गरेको काम अतुलनीय रहेको बताए । आफू मुख्यमन्त्री हुँदा आश्रमको कर्णाली प्रदेशस्तरीय शाखाको विस्तार गर्दा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।
सरकारमा संलग्न दलहरू सहयोगापेक्षी सडक अश्रित मानवमुक्त देश बनाउन सहयोग गर्नुपर्ने र आफ्नो पनि सहयोगी भूमिका रहने उनले प्रतिबद्धता समेत गरे ।
मानव सेवा आश्रमले सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि सञ्चालन गरेको महायज्ञमा २८ मंसिरसम्म चल्नेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया