दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी २०७५ मा सांस्कृतिक डबली (नाचघर) निर्माणको काम सुरु गरिएको थियो ।
सांस्कृतिक डबली निर्माणले स्थानीय कला संस्कृतिको संरक्षणसँगै घोरदौराको विकासमा भूमिका खेल्ने अपेक्षा गरिएको थियो । सोहीअनुसार घोरदौरामा सांस्कृतिक डबलीका लागि भवन, दर्शक बस्नका लागि सिँढी, शौचालय लगायतका संरचना निर्माण गरिएको छ ।
तर ती संरक्षणले पूर्णता पाउन सकेको छैन । बजेट अभाव लगायतका कारण लामो समयदेखि निर्माणअघि बढ्न नसकेको सांस्कृतिक डबलीका संरक्षण जीर्ण बन्दै गएका छन् । स्थानीयका अनुसार सांस्कृतिक डबली निर्माणको काम २०७८ देखि अघि बढ्न सकेको छैन ।
निर्माणको काम अघि बढ्न नसक्दा निर्माण भएका संरचनाहरू जीर्ण बन्दै गएका छन् । घोरदौरामा नाचघरसँगै सडक, खानेपानी, सञ्चार, विद्युत लगायतका पूर्वाधार बन्ने र यी पूर्वाधारले घोरदौरामा उत्पादन भएका बस्तु बेचबिखनका लागि घोराहीसम्म ल्याउन सजिलो हुने आशा गरिए पनि सांस्कृतिक डबली निर्माणको काममै हुन नसकेको स्थानीय प्रेमबहादुर घर्तीको भनाइ छ ।
काम अघि बढाउन २०७८ जेठ ३१ गते श्री नागार्जुन शिव निर्मल जेभीले ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले बाह्रकुने दहमा बहुउद्देश्यीय पार्कभित्र मन्दिरका लागि कम्पाउन्ड र पर्खाल निर्माण, गेट, पार्क, टिकट घर र सुरक्षा गार्ड बस्ने घरलगायतका संरचना निर्माणको कामलाई अघि बढाए पनि स्थानीयबिचमा विवाद भएपछि रोकिएको काम अझै सुरु हुन सकेको छैन ।
गुरुयोजना अनुसार सुरक्षा गार्ड बस्ने घरबाहेक अन्य संरचना निर्माण हुन नसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गुरुयोजनाअनुसार काम नहुँदा पर्यटकीय प्रवर्धनका लागि ६ करोडभन्दा बढी लागतमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय पार्क निर्माणको काम अलपत्र परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देबहादुर घर्तीमगरले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया