८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

व्यक्ति-अभिव्यक्ति

विद्युत् विधेयक संशोधन हुन्छ : ऊर्जामन्त्री खड्का



काठमाडौंं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सुझावसहित विद्युत् विधेयक संशोधन हुने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एसिएन पेन्ट्सले संयुक्तरुपमा शुक्रबार आयोजना गरेको ‘इन्फ्रास्ट्रक्चर इनोभेसन एन्ड सस्टेनेबल डेभलपमेन्ट’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खड्काले निजी क्षेत्रको साथ नभई २८ हजार ५०० मेगावाटको लक्ष्य पुरा गर्न नसकिने भन्दै निजी क्षेत्रका सुझाव समेटेर विद्युत् विधेयक संशोधन हुने दाबी गरेका हुन् ।

ऊर्जा क्षेत्रको विकास भए मात्र मुलुकको विकास सम्भव हुने भन्दै मन्त्री खड्काले छिट्टै पाइपलाइनमा रहेका ऊर्जा आयोजनाहरूको विद्युत् खरिद विक्री सम्झौता (पीपीए) खुला हुने पनि बताएका छन् ।

आयोजनाको खर्च र आम्दानी पहिले नै तय हुने भएकाले अरुभन्दा सुरक्षित व्यवसाय भएपनि मौसमी प्रतिकुलताले हुने जोखिम प्रवर्द्धकको हातमा नरहेकोले त्यसको सजाय प्रवर्द्धकलाई दिन नहुने पनि खड्काले बताए ।

ऊर्जामन्त्री खड्काले नेपालले पछिल्लो समय भारतमा ९५० र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिरहेको बताउँदै सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्दा १५ हजार मेगावाट विद्युत् यिनै देशमा निर्यात गर्ने लक्ष्य राखेको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार