काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।
चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको खर्च भएको छ ।
सो अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड ८ लाख ९८ हजार रुपैयाँ रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट ३ अर्ब २२ करोड ९५ लाख गरी जम्मा ४ अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि २१ अर्ब ९ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसकेपनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ । सो अवधिमा प्राधिकरणले भारततर्फ १ अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड ८७ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबर खर्च भएको छ । विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि १० अर्ब ८८ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको रकम प्राधिकरण आफैले खर्च गरेको छ । त्यस्ते वैदेशिक भुक्तानीतर्फ ६ अर्ब ५ करोड ५३ लाख १७ हजार रुपैयाँ बराबर रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया