१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

समाचार

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र मन्त्री खड्काबीच छलफल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका छन् ।

उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न आज मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्य अनुभवमा रहेका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री खड्काले सुक्खा याममा भारतबाट विद्युत् आयात गर्नुपर्ने र भारतीय विद्युतप्रति भर पर्नुपर्ने कारण तथा यसको समाधानका विषयमाथि विज्ञहरूको राय लिएका थिए ।

उनले विद्युत् चुहावट नियन्त्रण, विद्युत् बक्यौता असुली तथा प्राधिकरणको सुधार र सवलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा रायसुझाव मागेका थिए ।

छलफलमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा.मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको बताए ।

छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले उक्त लक्ष्यलाई पूरा गर्नका लागि जलाशययुक्त आयोजना कार्यान्वयनमा लैजान जोड दिएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ४ पुस २०८१, विहीबार