काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ ।
महानगरपालिकाले यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ ।
महानगरपालिकाका अनुसार नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमअन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण गरिएको हो ।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराए ।
उनका अनुसार सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ ।
१.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्ग किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ ।
यस अवधिमा करिब ८८ करोड रूपैयाँको काम सम्पन्न भएको र ५० करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया