काठमाडौं । कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले रङ्गशालामा प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीले तीन ‘सिफ्ट’मा काम गरेर निर्धारित समयमा नै रङ्गशालालाई सुविधासम्पन्न बनाइने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ ।”
प्रधानमन्त्रीले क्रिकेट रङ्गशाला निर्माणका क्रममा पारस खड्कासहितका राष्ट्रिय खेलाडीहरुसँग छलफल गरेको बताउँदै रङ्गशालालाई विश्वस्तरको बनाइने उल्लेख गरे ।
उनले रङ्गशाला निर्माणको काम शीघ्र पूरा गर्न तथा सुझावसँगै खबरदारी गर्न सबैलाई अनुरोध गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया