काठमाडौं । पुनर्निर्माणपछि धरहरा सशुल्क सञ्चालनमा आएको एक महिना पूरा भएको छ । यस अवधिमा टिकट बिक्रीबाट ५५ लाख रुपैयाँ सङ्कलन गरिएको छ ।
मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहरामा हिजो सोमबारसम्म उक्त रकम जुटाइएको हो ।
कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार, धरहरा प्रत्येक बुधबार बन्द हुन्छ भने अन्य दिनमा दैनिक झन्डै १,२०० जनाले धरहरा अवलोकन गर्छन् ।
उनले भने, “मंसिर ९ गतेदेखि हालसम्म ३१ हजारभन्दा बढीले धरहरा चढिसकेका छन् । १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राखिएको छैन ।
बिहान १०:३० देखि ३ बजेसम्म धरहरा खुला गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखिएको छ ।” उनले छिमेकी मुलुकका पर्यटकहरूको समेत धरहराप्रतिको आकर्षण बढिरहेको जानकारी दिए ।
धरहरा चढ्न प्रतिव्यक्ति शुल्क २ सय रुपैयाँ निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउँछन् । सार्क राष्ट्रका पर्यटकलाई ५ सय रुपैयाँ र अन्य देशका पर्यटकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति आदेश, २०८१ अनुसार धरहरा सञ्चालन गरिएको हो । मंसिर ६ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो ।
धरहरा परिसरभित्र पार्किङका लागि चारपाङ्ग्रे सवारीसाधनका लागि प्रतिघण्टा २० रुपैयाँ र दुईपाङ्ग्रे सवारीका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ छ ।
राष्ट्रिय महत्वका विज्ञापनका लागि धरहरा स्तम्भमा प्रतिघण्टा ५ हजार, व्यावसायिक भिडियो छायाङ्कनका लागि ५ हजार, र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया