२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

सडक विस्तार

मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने



काठमाडौं । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो ।

सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको बिशालटार, खटौटी लगायतका क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो ।

निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म २० प्रतिशत मात्र काम भएको जनाइएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । कुरीनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सववेसको काम भइरहेको छ ।

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो । निकै साघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन अर्थात नौ मिटर फराकिलो सडक बनाइँदै छ । उकालो ठाउँहरुमा तीन लेन अर्थात १२ मिटरको हुने छ । झण्डै एक दशमलब ५ किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २५ पुस २०८१, विहीबार