म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रू ११ करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालयबीच ठेक्का सम्झौता भएको यो आयोजनाको ४० प्रतिशत भौतिक प्रगति भएको छ ।
दरवाङ–धारापानी–ताकम–मुना सडकका लागि विनियोजन भएको रू दुई करोड बजेट पनि छ महिनामै सकिएको छ । चार किलोमिटर दूरीको यो सडक स्तरोन्नतिका लागि २०८१ साल जेठ २० गते रामसागर–बिएस धवलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच रू १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।
गत वर्ष बेनी–पाखापानी सडकमा रू चार करोड र दरवाङ–धारापानी–ताकम–मुना सडकमा रू पाँच करोड बजेट थियो । पूर्वाधार विकास कार्यालयले यी दुवै आयोजनाका लागि कम्तीमा थप रू पाँच–पाँच करोड बजेट आवश्यक पर्ने जनाएको छ ।
बेनी–पाखापानी र दरवाङ–धारापानी–ताकम–मुना मात्र नभएर जिल्लामा प्रदेश सरकारले सञ्चालन गरेका सबै सडक र मोटरेबल पुल आयोजनाको लागि चालु आवमा विनियोजन भएको बजेट छ महिनामै सकिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया