४ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

भवन

वडा कार्यालयका सेवा अब आफ्नै भवनबाट



काठमाडौं । सिरहाको लहान नगरपालिकाका सबै वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् । आजदेखि वडा नं ११ ले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेसँगै नगरमा रहेका सबै २४ वटै वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका हुन् ।

यस वडाले स्थापनाको आठ वर्षसम्म भाडाको घरमा रहेर जनतालाई सेवा दिँदै आएको थियो । आज भवनको उद्घाटन गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले यस कार्यले जनतालाई दिने सेवामा थप सहज भएको बताए । उनले सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्ने अवस्था बनेको बताए ।

‘भाडामा सञ्चालन भएका वडा कार्यालयहरू अब छैनन् । आज वडा नं ११ को कार्यालयको आफ्नै भवन बनेसँगै नगरका सबै वडाको आफ्नै भवन भएको छ । यसले सेवा प्रवाहमा थप सहजता आउने विश्वास लिएको छु,’ नगरप्रमुख चौधरीले भने ।

यसअघि १३ वटा वडा कार्यालय नवनिर्मित भवनहरुको आफूले उद्घाटन गरिसकेको उनले जानकारी दिए । लहान नगरपालिकामा २४ वडा रहेका छन् ।

आफ्नै भवन निर्माण गरी जनतालाई सेवा प्रवाह गर्न प्राथमिकता दिएका कारण क्रमशः नगरका सबै वडा आफ्नै भवनबाट सुविधा दिने अवस्थामा पुगेको नगरप्रमुख चौधरीको भनाइ थियो । उनले नगरभित्र रहेका जनतालाई सहज सुविधा प्रदान गर्न नगरपालिका लागिपर्ने प्रतिबद्धता जनाए ।

आठ वर्षपछि आफ्नै भवनको वडा कार्यालयबाट सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको वडाअध्यक्ष सूर्यनारायण चौधरीले बताए । नगरपालिकाको करिब रु ५० लाखको लागतमा भवन निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ३ माघ २०८१, विहीबार