६ माघ, नेपालगञ्ज ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप्नु भन्दा शुरु भएका योजनाहरु पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । श्रोत साधन र आवश्यकता अनुसार सरकारले नयाँ योजनाहरु थप्दै जान सक्ने भए पनि थालिएका योजनाहरु अलपत्र पारिने क्रम अव अन्त्य हुनु पर्ने उहाँको भनाई छ । नेपालगञ्जमा आयोजीत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतका कार्यालय प्रमुखहरु सहभागी कार्यशालाको आईतबार उद्घाटनका क्रममा उहाँले ‘क्रोनिक’ आयोजना तथा योजनाहरुलाई प्राथमिकता दिएर पूरा गर्न समेत उहाँले निर्देशन दिनुभयो ।
‘सरकारले आफुसँग भएको श्रोत साधन तथा आवश्यकता अनुसार नयाँ योजना तथा आयोजनाहरु नियमित रुपमा थप्ने र ल्याउने नियमित प्रकृया हो’ मन्त्री दाहालले भन्नुभयो, ‘तर अब नयाँ योजना र आयोजनाहरु थप्न तर्फ भन्दा थालिएका कामहरु पूरा गर्न तर्फ जोड दिनु होला, अवरुद्ध र क्रोनिक आयोजनाका कारण नागरिकमा निराशा बढ्ने स्थिति आउनु हुँदैन ।’ डिभिजन तथा आयोजना कार्यालयहरुले गर्नु पर्ने काम र अघि बढाउनु पर्ने प्रकृयालाई गति दिन निर्देशन दिँदै उहाँले नीतिगत तथा कानूनी समस्याका कारण कार्यसम्पादनमा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने तर काम अवरुद्ध हुन नदिईने समेत बताउनुभयो ।
मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल सहित विज्ञहरुले आयोजना सञ्चालन तथा व्यवस्थापनका सम्वन्धमा अभिमुखीकरण गर्नु हुने छ । यस अघि पोखरा, मोरङ र काठमाडौमा यसै प्रकारको अभिमुखीकरण तथा प्रशिक्षण सम्पन्न भएको मन्त्रालयका ईन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनु भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया