काठमाडौं । जिल्लाको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्वीकृत गरी परीक्षणको शुल्क निर्धारण गरेको हो ।
नगरपालिकाले सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी स्वास्थ्य संस्थाहरू, नगरपालिकाअन्तर्गतका वडा कार्यालय र अन्य मातहतका कार्यालयहरू र विपन्न नागरिकका लागि खानेपानी परीक्षण निःशुल्क गर्दै अन्य व्यक्ति र निकायलाई शुल्क निर्धारण गरिएको नगरप्रमुख जीवन खत्रीले बताउनुभयो । नगरभित्रका घरका लागि पानी परीक्षण शुल्क प्रतिपटक रु तीन सय तोकेको छ ।
संस्थागत विद्यालय तथा मन्टेश्वरीका लागि प्रतिपटक रु छ सय ५०, संस्थागत अस्पताल र स्वास्थ्य संस्था तथा अन्य सङ्घसंस्थाहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू, होटल, जार तथा बोतलको पानी उत्पादन गर्ने कम्पनी तथा अन्य कम्पनीहरू, नगरपालिका क्षेत्रबाहिरका घरका लागि प्रतिपटक रु एक हजार दुई सय ५० निर्धारण गरिएको नगरप्रमुख खत्रीले जानकारी दिए ।
चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा सुरु गरिएको प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ मा उल्लिखित २७ वटामध्ये धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, सल्फेट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इकोली, कुल कोलिफमजस्ता आधारभूत पारामितिहरू परीक्षण गर्न सकिनेछ ।
नगरमा सञ्चालित सुरक्षित पानी र उत्थानशील नगरपालिका (सर्वोच्च) परियोजनासँगको साझेदारीमा खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला सुरु गरिएको नगरप्रमुख खत्रीले बताए । उनले नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानी गुणस्तर जाँच गर्न शुल्क निर्धारणसहित परीक्षण गर्न÷गराउन सुरु गरिएको उनले उल्लेख गरे ।
नगरपालिकाले नेदरल्याण्डको डोपर संस्थासँगको समन्वय तथा लागत साझेदारीका साथै विभिन्न संस्थाको सहयोगमा ल्याब सञ्चालनमा ल्याइएको हो । योसँगै जिल्लामा रहेकामध्ये चाँगुनारायण खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने पहिलो नगर बनेको छ ।
काठमाडौं उपत्यकाको खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने चाँगुनारायण तेस्रो नगरपालिका हो । यसअघि गोदावरी र महालक्ष्मी नगरपालिकाले यस्तो प्रयोगशाला सञ्चालनमा ल्याइसकेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया