९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

बाढीपहिरोले ऊर्जा, जलस्रोत र सिँचाइमा ४ अर्ब ३५ करोड बराबरको क्षति



आइतवार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड, सिँचाइतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिब १ अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिब ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

मन्त्रालयले यो क्षति अनुमानमात्रै रहेको भन्दै अझै बढ्नसक्ने बताएको छ । पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढी र पहिरोका कारण ११ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताए ।

उनले जलविद्युत र प्रशारणलाइनतर्फ २ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको बताए । उनले सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गरे ।

मन्त्री खड्काले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटाभन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको पनि बताए ।

ऊर्जामन्त्री खड्काले २ दिनसम्म लगातार परेको वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका २ जना कर्मचारी र सुरक्षामा खटिएका नेपाली सेनाका २ जना गरी ४ जना बेपत्ता भएको बताए ।

उनले निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत, ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको जानकारी दिए । उनले मौसम विभागले गरेको पूर्वानुमान गरी दिएको सूचनाको कारण क्षति कम भएको बताए ।

उनले गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्ब रुपैयाँ र ठूलो जनधनको पनि क्षति भएको बताए । मन्त्री खड्काले जलविद्युत आयोजनाहरु पुनःनिर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

सरकारले विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिब १ अर्ब १६ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।

प्रशारण लाइनतर्फ काबेली करिडोरअन्तर्गतको दमक-गोदक १३२ केभी प्रसारण लाइन, खिम्ती-लामोसाँघु १३२ केभी, र सोलु करिडोरमा क्षति पुगेको छ ।

सिँचाइतर्फ १ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ ।

रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ । कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ ।

सुनसरी-मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा सामान्य क्षति हुँदा ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार